वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० ले १६ जना छात्रालाई कम्प्युटर वितरण गरेको छ । एसईई उत्तीर्ण गरी कक्षा ११ मा अध्ययनरत १६ जना छात्रालाई मंगलवार एक कार्यक्रमका बीच एक÷एक थान डेस्कटप कम्प्युटर उपलब्ध गराइएको हो ।

चुनावी घोषणापत्रमा उल्लेख भएबमोजिम वडाका छात्राहरुलाई अध्ययनमा अभिप्रेरित गर्ने अभिप्रायले कम्प्युटर वितरण गरिएको वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० का वडाअध्यक्ष मनोज कुमार यादवले बताए ।

उनले भने, ‘वडा नम्बर ३० महानगरपालिका भएपनि ग्रामीण भेगमा पर्दछ, कतिपय छात्रा एसईई उत्तीर्ण गरेपछि पठनपाठनलाई अगाडि बढाउँदैनन्,’ वडाध्यक्ष यादवले भने, ‘छात्राहरूलाई अध्ययनप्रति प्रोत्साहन गर्ने उद्देश्यले एसईई उत्तीर्ण गरी कक्षा ११ मा अध्ययन गरिरहेका १६ जना छात्रालाई कम्प्युटर प्रदान गरेका छौँ ।’

 

स्कुलमा कम्प्युटर विषय अध्ययन गरिरहेका विद्यार्थीहरुको गाउँमा कम्प्युटर नहुँदा पढाइ प्रभावित भइरहेको हुँदा उनीहरुलाई घरमै अभ्यास गर्न सहज होस् भन्ने हेतुले कम्प्युटर वितरण गरिएको वडाअध्यक्ष यादवले बताए । ११ कक्षामा अध्ययनरत छात्रालाई कम्प्युटर प्रदान गर्दा नयाँ छात्राहरुलाई पनि पढाइप्रति हौसला बढ्ने यादवको विश्वास छ ।

महानगरका सबैभन्दा कान्छा वडाअध्यक्षसमेत रहेका यादवकाअनुसार यसपालि एसईई परीक्षामा सहभागी भएका छात्राहरुलाई पनि असार मसान्तपछि कम्प्युटर प्रदान गर्ने योजना रहेको छ । उनले भने, ‘सुरुमा छात्राहरुलाई ल्यापटप वितरण गर्ने योजना थियो । तर बजेट अभावका कारण डेस्कटप कम्प्युटर वितरण गरेका छौँ । अब असार मसान्त पछि अहिले एसईई दिएका छात्रालाई पनि दिने योजना छ ।’

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य एवम् पूर्व मन्त्री प्रदीप यादव, वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह लगायतले वडाअध्यक्ष यादवको कदमको सह्राना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0