असोज १०, २०८१

सर्लाहीमा एक युवकले गोली हानेर श्रीमतीको हत्या गरेका छन् । गोली लागेर युवकका बुबा पनि घाइते भएका छन्।

हरिपूर्वा नगरपालिका – ५ का २७ वर्षीय धीरेन्द्र यादवले गएराति २ बजेतिर श्रीमती २३ वर्षीया चित्रलेखा यादवको हत्या गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

टाउको र आँखामा दुई गोली लागेकी चित्रलेखाको घटनास्थलमै मृत्यु भएको कार्यालयका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। बुबा ५४ वर्षीय रामदिनेशको कुहिनोमा गोली लागेको छ।

बुहारीलाई गोली प्रहार हुन थालेपछि छुट्याउने क्रममा उनलाई पनि गोली लागेको हुनसक्ने प्रहरीको अनुमान छ। प्रादेशिक अस्पताल मलंगवामा उनको उपचार भइरहेको डीएसपी श्रेष्ठले बताए।

प्रहरीले घटनास्थलबाट दुई राउण्ड गोलीको खोका र एक राउण्ड मिसफायर भएको गोली बरामद गरेको छ।

 

प्रहरीका अनुसार धीरेन्द्र केही समयअघि मात्र वैदेशिक रोजगारीबाट फर्किएका थिए। गोली प्रहार गरी भागेका उनको खोजी र पत्नीको हत्या गर्नुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0