रौतहट, २१ असोज । विगत सात बर्ष देखि यमुनामाई गाउँपालिका वडा नम्वर ४ का वडाध्यक्षले गोठमै राखेर वडा कार्यालय संचालन गरिरहेको भन्दै गाउँपालिकाको कार्यालयमा सोमवार दोश्रो दिनपनि तालाबन्दी जारी रहेका छन् ।
कुपायक स्थानबाट सबैको हितमा हुने स्थानमा वडा कार्यालय राख्नुपर्ने माग गर्दै नेपाली काँग्रेसको वडा समितिले पटक पटक माग राख्दा पनि कुनै सुनवाई नगर्दा असोज १० गते देखि २४ घण्टे रिले अनसनमा बसेर पनि सुनुवाई नहुँदा असोज २० गते विहानै देखि गाउँपालिकाको कार्यालयमा ताला लागेको छ तर खुलाउने अझै प्रयास भएन् ।
गाउँपालिका र वडाको वेथेती विरुद्ध नेपाली काँग्रेस यमुनामाई गाउँ कार्य समिति आन्दोलित हुदै हिजो देखि अनिश्चितकालिन तालाबन्दी गरेका छन् ।
निरन्तर रुपमा दोश्रो कार्यकालमा निर्वाचित भएका यमुनामाई गाउँपालिका वडा नम्वर ४ का अध्यक्ष अश्वनीकुमार यादव (चेतन यादव) ले पायक पर्ने स्थानमा वडा कार्यालय राख्नुको साटो आफनै घरगोठबाट वडा कार्यालय संचालन गरिरहदा सेवाग्राही जनताहरु भोग्दै आएको समस्यालाई लिएर नेपाली काँग्रेस गाउँ कमिटि र वडा कमिटीले पटक पटक वडाध्यक्ष, पालिका अध्यक्षलाई भन्दा कुनै वास्ता गरेन ।
वडा कार्यालयको समस्या पालिकामा सुनुवाई नभएपछि प्रमुख जिल्ला अधिकारीलाई गुहारे तर त्यहाँबाट पनि न्याय नपाएपछि तालाबन्दी गर्नुपरेको आन्दोलन समितिका संयोजक श्रीराम राय यादवले बताए ।
हामीहरुको माग पुरा नभएसम्म ताला नखोलिने चेतावनी दिदै संयोजक यादवले दिनरात धर्नामा बसेका छौं तर अहिले पनि सम्बध निकाय उदाशिन रहदा पनि माग पुरा गरेरै छाड्ने उनले चेतावनी दिए ।