पुस २ गते
धनुषामा प्रहरी कर्मचारीको आमालाई घाँटी काटेर विभत्स हत्या गर्ने एक जनालाई धनुषा प्रहरीले सार्वजनिक गरेको छ । 

गत मँसिर १८ गते साँझ घाँस काट्न घरबाट निस्किएकी धनुषाको विदेह नगरपालिका वडा नम्बर ५ मुडिबा माइत रहेकी रामपरीदेवीको सोही दिन घाँटी छिनाएर हत्या गरेको आरोपमा स्थानीय एक जनालाई धनुषा प्रहरीले मँगलबार १४ दिनपछि सार्वजनिक गरेको छ ।  रामपरिको टाउको र शरिर अलग–अलग फेला परेको थियो । मृतक महिला नेपाल प्रहरीका कर्मचारीका आमा हुन् । 

धनुषा प्रहरीका अनुसार शहीदनगर नगरपालिका–७ स्थित शिवनारायण मण्डलको धान खेतमा रामपरीदेवीको शव फेला परेको थियो भने टाउको २०५ फिट पर खेतको पैनी नहर) स्थित झाडीमा फेला परेको थियो ।

घटनास्थलबाट रगत लागेको चिरपट, चप्पल र अन्य सामग्री बरामदपछि स्थानीय सगमलाल पासवानलाई पक्राउ गरी सार्वजनिक गरेको छ । रामपरिको विभत्स हत्या सगमलाल पासवानले गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पासवानले रामपरिलाई बोलाएर घाँटी काटेर हत्या गरेको खुलेको हो । यो घटनामा अन्य जना समेत हुन सक्ने धनुषाका प्रहरी उपरीक्षक (एसपी) भुवनेश्वर तिवारीले जानकारी दिए । 

घटना अनुसन्धानको क्रममा सगमलाल पासवानको घर तलासी गर्दा सुटकेसमा लुकाइएको अवस्थामा रगत लागेको निलो पाइन्ट, हरियो भेस्ट, पहेँलो ज्याकेट र अन्य सामग्री बरामद भएको एसपी तिवारीले जानकारी दिए ।

मृतक महिलासँग हत्याअघि सगमलालको फोन सम्पर्क हुने गरेको पाइएको बताइएको छ । सो हत्या प्रकरणमा एक्लो सगमलाल पासवान मात्र नभई थप जना हुन सक्ने प्रहरीको आशंका रहेको छ । यसबारे अनुसन्धान कडा पारिएको एसपी तिवारीले बताए । 

प्रहरीको अनुसन्धानप्रति पीडित परिवारको शंका
यता, धनुषा प्रहरीको अनुसन्धानप्रति पीडित परिवारले शंका जनाएको छ । घाँटी छिनाएर विभत्स हत्यामा एक मात्र सगमलाल पासवानबाट सम्भव नहुने भन्दै गाउँकै केही जना अझै हुन सक्ने र प्रहरीले उनीहरुलाई उन्मुक्ति दिने दाउ लगाएको आरोप पीडित परिवारको छ । 

मृतकका भाई (सरकारी कर्मचारी) रामनरेश ठाकुरले प्रहरीले केही व्यक्तिहरुलाई राजनीतिक दबाबमा उन्मुक्ति दिन खोजेको आरोप लगाए । भारी भरकम्प शरिर भएकी रामपरिलाई एक्लै सगमलाल पासवानले उठाउन सक्ने अवस्था नरहेको बताउँदै ठाकुरले यसमा अन्य जनाको सँलग्नतालाई प्रहरीले लुकाउन खोजेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0