
बैशाख १३ गते
दिपक साह
रौतहट जिल्लाको ईशनाथ नगरपालिकामा नगरस्तरीय “मेयर कप क्रिकेट प्रतियोगिता २०८३” आजदेखि औपचारिक रूपमा सुरु भएको छ। नगरपालिकाको आर्थिक सहयोगमा आयोजना गरिएको उक्त प्रतियोगिताको उद्घाटन नगर प्रमुख श्रीमती कौशल्या देवी र प्रमुख प्रशासकीय अधिकृत मो. नवाज हुसैनद्वारा संयुक्त रूपमा गरिएको हो।
वडा नं. ३ स्थित श्री जनता माध्यमिक विद्यालयको खेलमैदानमा आयोजित उद्घाटन कार्यक्रममा वडा नं. १ देखि ९ सम्मका वडा अध्यक्ष, समाजसेवी, बुद्धिजीवी तथा खेलप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रम भव्य वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।
उद्घाटनका क्रममा नगर प्रमुख कौशल्या देवी स्वयं खेलमैदानमा उत्रिएर खेलाडीहरूसँग क्रिकेट खेल्दै प्रतियोगिताको शुभारम्भ गरेकी थिइन्। कार्यक्रममा बोल्दै उनले खेलकुदले पालिका मात्र नभई सिंगो देशलाई चिनाउने माध्यम भएकाले स्थानीय खेलाडीलाई प्रोत्साहन गर्न यस्तो प्रतियोगिता आयोजना गरिएको बताइन्।
उनले प्रतियोगितामा सहभागी सबै खेलाडीहरूलाई अनुशासित, शान्त र सभ्य ढंगले खेल्न आग्रह गर्दै निर्णायक टोलीलाई निष्पक्ष रूपमा खेल सञ्चालन गर्न निर्देशन दिइन्। साथै, उनले यस प्रतियोगिताले स्थानीय खेलाडीहरूको क्षमता अभिवृद्धि गर्दै उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्न प्रेरणा दिने विश्वास व्यक्त गरिन्।
नगर प्रमुखले प्रतियोगितामा सहभागी सम्पूर्ण टिमलाई अग्रिम शुभकामना दिँदै निरन्तर अभ्यासमार्फत उत्कृष्ट खेलाडी बन्न र देश तथा पालिकाको नाम उज्ज्वल बनाउन आग्रह गरिन्।
उक्त मेयर कप क्रिकेट प्रतियोगितामा ईशनाथ नगरपालिका अन्तर्गतका वडा नं. १ देखि ९ सम्मका टोलीहरूबीच प्रतिस्पर्धा हुने जनाइएको छ।















