रौतहट, २ जेठ । रौतहटका विभिन्न स्थानीय तहहरुले मातहतका विभिन्न खोलाहरुबाट खोलाजन्य पदार्थको निकासीको लागि मापदण्ड विपरित लगाएका ठेक्का लगाएपछि ठेक्केदारहरु मेशिन प्रयोग गरेर अबैध दोहन कार्य जारी राखेको कुराहरु बाहिरिदा नियमन गर्न जिल्ला अनुगमन समितिद्वारा अनुगमन निरीक्षण गरेका छन् ।


जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला अनुगमन समितिका संयोजक, प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरुले शुक्रवार विहान वागमती सहित विभिन्न नदीमा भईरहेको उत्खनन एवं दोहनको अवस्था वारे स्थलगत रुपमा उपस्थित भई अनुगमन निरीक्षण गरेका हुन् ।

बागमती नदीबाट अवैध रुपमा नदीजन्य पदार्थहरु गिट्टी, मिक्सग्राभेल र बालुवाको उत्खनन भइरहेको तथा तोकिएको भन्दा बढी उत्खनन भएको गुनासो आएपछि जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अकिारी, नेपाल प्रहरीका एसपी, सशस्त्र प्रहरीका एसपी, राष्ट्रिय अनुसन्धानका उप निर्देशक सहित सम्मिलित पदाधिकारीहरुले आज विहान निरीक्षण गरेको बताइएको छ ।

वृन्दावन नगरपालिका स्थित बागमती नदीको रमौली, विश्रामपुर, हरैया पल्टुवा, गढिमाई नगरपालिकाको समनपुर लगायतका विभिन्न घाटहरुको स्थलगत अनुगमन निरीक्षण गरेको छ । स्थानीय तहहरूको सिमाना तथा क्षेत्राधिकारमा पर्ने नदीबाट नदीजन्य पदार्थ बालुवा, गिट्टी, ढुंगा, ग्रेबल निकाल्न लगाइएको ठेक्का अनुरूप ठेक्का सकार गरेका व्यवसायीले वातावरणमा प्रभाव नपर्ने गरी कार्य गरेका छन् वा सो विपरीत कार्य गरिरहेको सन्दर्भमा जिल्ला अनुगमन समितिका पदाधिकारीबाट बागमती नदीको संयुक्त अनुगमन निरीक्षण गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले बताए ।

अनुगमनको क्रममा टोलीले नियम विपरीत नदीजन्य पदार्थ उत्खनन नगर्न सम्बन्धित व्यक्तिलाई सचेत गराए । वातावरणमा प्रतिकूल असर नपर्ने गरी नदीजन्य वस्तु निकाल्न आग्रह गर्दै टोलीले नियम कानुन विपरीत नदी दोहन गरेको पाइए कडा कारवाही गर्ने चेतावनी दिएको प्रजिअ खड्काले भने ।
खोलाको दोहन नियन्त्रण गर्न हामी सबै सरोकारवाला निकायले कडाइका साथ लाग्नुपर्ने तथा अवैध रुपमा भइरहेको नदी, खोलाको दोहन रोक्न सम्बन्धित निकायलाई निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी खड्काले बताए ।
क्रसर उद्योगमा यसरी अवैध रुपमा राखिएको नदी जन्य पद्धार्थको स्रोत खोज्न, त्यसको स्टक सहितका भ्याट हेर्न सम्बन्धित निकायलाई निर्देशन दिदै नदी, खोलाबाट प्रति नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निगरानी राख्न पनि निर्देशन दिइएको बुझिएको छ ।

व्यवसायीले सकार गरेको मापदण्ड विपरीत खोलाको धारलाई परिवर्तन हुने, मानव बस्तीलाई जोखिममा पार्ने, बाँधलाई असर पर्ने खालको मेसिन लगाएर उत्खनन गरिएको पाइएमा कानुन बमोजिम कारबाही हुनेछ ।
नदीजन्य वस्तु निकासी गर्दा प्रयोग गरेको बाटो बिग्रेमा व्यवसायी स्वमले मर्मत गर्नुपर्ने र विवादरहित ढंगबाट पारदर्शी रूपमा स्थानीय तहले ध्यान दिएर काम गराउन स्थानीय तहसँग आग्रह गर्दै विकास निर्माणको कार्य वा अन्य प्रयोजनबाहेक भण्डार गर्ने कार्यमा समेत स्थानीय तहले रोक लगाउनु उनले स्पष्ट पारे ।
अनुगमनका क्रममा देखिएका केही कमी कमजोरीका विषयमा ठेकेदारलाई सचेत गराई कानुन अनुसार उत्खनन् र संकलन गर्न निर्देशन दिइएको जिल्ला समन्वय समिति रौतहटका प्रमुख तथा अनुगमन समितिका संयोजक राम अयोध्या प्रसाद यादवले बताए ।

जिल्लाका विभिन्न नदी र खोलामा नदीजन्य पदार्थको अवैध उत्खनन्को नियन्त्रण तथा नियमन गर्नका लागि अनुगमनको कार्य नियमित रुपमा भइरहेको समन्वय समितिका प्रमुख यादवले भने ।
अवैध तरिकाले नदी दोहन गरी अर्थात् नदीजन्य पदार्थ उत्खनन गरी क्रसर उद्योगमा भण्डारण गरेर राख्ने र चर्को मूल्यमा बिक्री गर्ने क्रम बढेपछि रौतहटका सुरक्षा निकाय र जिल्ला समन्वय समितिले अवैध नदी उत्खनन कार्य रोक्न अनुगमन निरीक्षण गर्न थालेका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख यादव, प्रमुख जिल्ला अधिकारी खड्का, नेपाल प्रहरीका एसपी नेत्रमणि गिरी, सशस्त्र प्रहरीका एसपी सन्तोषकुमार बस्नेत, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक अभिनयकुमार सिंह सुरक्षा पदाधिकारी तथा जिल्ला अनुगमन समितिका पदाधिकारीहरुले खोलाजन्य पदार्थको उत्खनन, निकासी तथा क्रसिङ हुने प्रमुख स्थानहरुको स्थलगत अनुगमन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0