
रौतहट/महोत्तरी — एसइइ परीक्षा दिएर घर फर्किरहेका विद्यार्थीहरू सवार दुई मोटरसाइकल आपसमा ठोक्किँदा महोत्तरी जिल्ला मा तीन जना विद्यार्थीको ज्यान गएको दुःखद घटना सार्वजनिक भएको छ।
उक्त घटनापछि रौतहट जिल्ला का सडकहरूमा पनि विद्यार्थीहरू अत्यधिक गतिमा मोटरसाइकल चलाउने, बिना हेलमेट हिँड्ने जस्ता जोखिमपूर्ण गतिविधि बढ्दै गएको पाइएको छ। परीक्षा सुरु र सकिने समयमा विशेषगरी यस्तो लापरवाही देखिएको स्थानीयले बताएका छन्।
यातायात नियमको उल्लङ्घन गर्दै “यमराजलाई चुनौती दिने” शैलीमा बाइक कुदाउँदा यस्ता दुर्घटना निम्तिने खतरा बढेको सरोकारवालाको भनाइ छ।
स्थानीय बासिन्दा तथा अभिभावकहरूले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई सडकमा कडाइका साथ अनुगमन गर्न आग्रह गरेका छन्। “रौतहटमा ट्राफिक कार्यालय छ भन्ने अनुभूति गराइदिनुपर्छ, नत्र भोलि यस्तै घटना दोहोरिन सक्छ,” उनीहरूको भनाइ छ।
विद्यार्थीहरूको सुरक्षाका लागि हेलमेट अनिवार्य प्रयोग, गति नियन्त्रण तथा ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन गर्न सरोकारवाला निकायलाई आग्रह गरिएको छ।















