
रौतहटको गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निलमकुमार न्यौपानेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएपछि पनि उनले उक्त नगरपालिकामा मेयर र उपमेयरबीच एकापसमा कुरा लगाएर नगरपालिकामा अनियमितता गरिरहेका छन् ।
बिशेष गरी मेयर र उपमेयरलाई एकका बिरुद्ध अर्कालाई उचालेर उनले नगरपालिकको स्रोत साधनको दोहन गरिरहेको आरोप छ । मेयर र उपमेयर अलग अलग पार्टीका भएकाले प्रशासकीय अधिकृत न्यौपानेले एकआपसमा विवाद गराउन सफल भएका छन् ।
मेयर एमालेका कन्थमतीप्रसाद कलवार छन् भने उपमेयरमा नेपाली कांग्रेसकी पुनमकुमारी चौधरी छन् । न्यौपानेले बिशेषगरी उपमेयरलाई उचालेर नगरमा मेयरलाई अप्ठेरोमा पार्दैआएका छन् । न्यौपानेको काम नै मेयर उपमेयरबीच बैमनस्य गरेर फाइदा लिने हुँदैआएको छ ।
यसअघि भजनी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा उनले मेयर र उपमेयरलाई यसैगरी उचालेर आफूले फाइदा लिएका थिए । भजनी नगरपालिकामै हुँदा उनले गरेको अनियमितताको बिषयमा अख्तियारले उनलाई बयानका लागि बोलाएको हो ।
२०८२ चैत १० गते बयानका लागि उपस्थित हुन उनलाई पत्र काटिएको छ । अख्तियारको पत्रमा भजनी नगर कार्यपालिकाको कार्यालयबाट भजनी कर्मचारी प्रोत्साहन कार्यबिधि २०८१ बमोजिम पुरस्कार बितरण सम्बन्धी केही बुझ्नुपर्ने भएकाले १० दिनभित्र बयानका लागि उपस्थित भई सहयोग गर्न अनुरोध गरिएको छ ।
बयानमा बोलाएपछि पनि अख्तियारमा समेत आफ्नो च्यानल छ भन्दै मिलाउन लागेका छन् । उनलाई बयानका लागि पत्र काटिसकेपछि पनि उनी राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुमार्फत् मिलाउन काठमाडौंमै बसी दौडधूपमा लागेका छन् ।















