
साउन १५ गते
राैतहट जिल्लाको मौलापुर नगरपालिकाको पतौराका आमा र दुई वर्षको बच्चा लाई हत्या गरेको आरोपमा पक्राउ परेका तिन जना पुर्पक्षका लागि गौर कारागार चलान गरिएको छ ।
शुक्रबार जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि गौर कारागार चलान गर्ने आदेश दिएको प्रहरी प्रवक्ता डिएसपी उमाशंकर यादवले बताएका छन ।
मौलापुर नगरपालिका वडा नम्वर ४ पतौरा गाउँका २४ वर्षीया कविता देवी र उनकी २ वर्षीया छोरी आरुही कुमारीलाई गत असार १५ गते बिहान घरमा हत्या गरेर आत्महत्या गरेको देखाउन झुण्डयाएको आरोपमा जिल्ला अदालत रौतहटले पक्राउ परेका तिन जनालाई पुर्पक्षका लागि गौर कारागार चलान गरेका छन् ।
बालिका आरुहीको शव पंखामा झुन्डिएको अवस्थामा र कविताको शव घरको सिँढीमुनि शंकास्पद अवस्थामा फेला पारे पछी प्रहरीले हत्याको आंशकामा अनुसन्धान अघि बढाएको थियो । घटनापछि मृतक कविताका श्रीमान् धीरेन्द्र साह, सासु मैनादेवी साह र जेठानी निशा देवीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरेकोे थियो । ससुरा नागेन्द्र साह अझै पनि फरार रहेको प्रहरीले बताएका छन ।
प्रहरीले चारैजना विरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सकेर अदालतमा पेस गर्दा न्यायाधीश तेजबहादुर खड्काको एकल इजलासले पक्राउ परेकाहरु निर्दोष छन् भन्ने तत्काल आधार नदेखिएकाले पुर्पक्षका लागि कारागार चलान गरिएको छ । मृतक कविताका बुवा रौतहट जिल्ला माधवनारायण नगरपालिका वडा नम्वर ५ मिठुअवाका विजयशंकर साहले ज्वाइँ धिरेन्द्र साह लगायत ४ जनाले हत्या गरेको भन्दै उनीहरु विरुद्ध कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिएका थिए ।
२०७७ मंसिरमा छोरीको विवाह गर्दा उनले ज्वाइँलाई दाइजोमा मोटरसाइकल दिएका थिए । विवाहमा मागे जति सरसामान दाईजो दिए पनि दुई वर्षपछि छोरी मार्फत सुनको सिक्री, औठी र पलङ मागेको र नदिएपछि हत्या गरेको विजय शंकरको आरोप रहेको छ ।















