
बैशाख १३ गते
दिपक साह
रौतहट जिल्लाको ईशनाथ नगरपालिका–३ स्थित श्री जनता माध्यमिक विद्यालयमा चार कोठे नयाँ विद्यालय भवन निर्माणका लागि शिलान्यास कार्यक्रम आज भव्य तथा सभ्य वातावरणमा सम्पन्न भएको छ।
नगर प्रमुख कौशल्या देवी ले भवनको शिलान्यास गर्दै नगरपालिकाले गुणस्तरीय शिक्षा सुनिश्चित गर्न आवश्यक भौतिक पूर्वाधार विकासमा जोड दिइरहेको बताउनुभयो। उहाँले नगरभित्रका सबै विद्यालयहरूलाई क्रमशः भौतिक संरचनाको अभावबाट मुक्त गर्दै लैजाने विश्वास व्यक्त गर्नुभयो।
उहाँले आफ्नो सम्बोधनमा शिक्षा क्षेत्रको समग्र सुधारमा नगरपालिका पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै “गुणस्तरीय शिक्षा हाम्रो साझा लक्ष्य हो” भन्ने कुरामा विशेष जोड दिनुभयो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मो. नवाज हुसैन ले निर्माण कार्यलाई गुणस्तरीय, दिगो र प्रभावकारी बनाउन विद्यालय प्रशासन, स्थानीय समुदाय तथा सम्बन्धित सरोकारवालाहरूको सक्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो।
उक्त भवन निर्माण सम्पन्न भएपछि विद्यालयको शैक्षिक वातावरण थप सुदृढ हुने र विद्यार्थीहरूलाई सहज तथा व्यवस्थित अध्ययनको अवसर प्राप्त हुने अपेक्षा गरिएको छ।















