अभिमनु पटेल
रौतहट, २३ माघ ।
रौतहट जिल्लाको बौधिमाई नगरपालिकामा जनप्रतिनिधिबाटै कर्मचारीमाथि अमानवीय व्यवहार भएको गम्भीर आरोप सार्वजनिक भएको छ। नगरपालिकाका मेयर प्रदीप राय यादवले स्वास्थ्यकर्मीलाई कुटपिट गर्दै करिब एक घण्टासम्म शौचालयमा थुनेको घटनाले स्थानीय तहमा कानून र सुशासनमाथि नै प्रश्न उठाएको छ।

बौधिमाई नगरपालिका वडा नम्बर–६, पिपरिया टोलस्थित स्वास्थ्य चौकीमा कार्यरत पाँचौँ तहका सिएमए (CMA) स्वास्थ्यकर्मी अनिल साहमाथि मेयर यादवले क्षयरोगसम्बन्धी औषधि नगर प्रहरीलाई नदिएको निहुँमा गालीगलौज, हातपात तथा मानसिक यातना दिएको पीडितको आरोप छ। सर्लाहीको बसवरिया गाउँपालिका–गोनरवाका स्थायी बासिन्दा साहलाई पदको दुरुपयोग गर्दै शौचालयमा बाहिरबाट ढोका थुनेर बन्दी बनाइएको थियो।
घटनापछि अन्य जनप्रतिनिधि तथा कर्मचारीको पहलमा करिब एक घण्टापछि साहलाई मुक्त गरिएको थियो। त्यसपछि समेत मेयर र साहबीच हातपात र गालीगलौज भएको पीडित पक्षको भनाइ छ।

स्थानीयका अनुसार मेयर यादव विगत पौने चार वर्षको कार्यकालमा पटक–पटक विवाद, दुर्व्यवहार र कुटपिट प्रकरणमा मुछिँदै आएका छन्। यसअघि पनि निमित्त प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख, सचिव, जिन्सी शाखा प्रमुख र पशु शाखा प्रमुखलगायत कर्मचारीमाथि दुर्व्यवहार, थुन्ने र धम्की दिने गरेको आरोप लाग्दै आएको छ।

स्थानीय सरकार जनताको सेवा र अधिकार सुनिश्चित गर्ने थलो हुनुपर्नेमा बौधिमाई नगरपालिकामा विकासभन्दा बढी डर, त्रास, मुद्दा र झगडाको वातावरण बनेको पीडित पक्षको गुनासो छ। मेयर यादवले पदको दुरुपयोग गर्दै कर्मचारी र सर्वसाधारणमाथि तानाशाही शैली अपनाउने, असहमति जनाउनेमाथि मुद्दा दर्ता गराउने तथा दबाब दिने गरेको आरोपसमेत लगाइएको छ।

घटनाका क्रममा प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य संयोजक, उपसंयोजक, उपप्रमुख, वडा अध्यक्ष मुक्तिनारायण, नरेन्द्र कुमार सिन्हा तथा नगर प्रहरीको उपस्थितिमा समेत कसैले खुलेर विरोध गर्न नसक्नुले नगरपालिकामा भय र दबाबको अवस्था कति गहिरो छ भन्ने प्रस्ट देखिएको पीडित अनिल साहले बताएका छन्।
पीडित साहले न्यायका लागि सम्बन्धित निकायमा उजुरी दिने तयारी गरिरहेको जनाउँदै दोषीमाथि कडा कारबाही हुनुपर्ने माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0