वैशाख ८ गते
सुनसरी
मानवियतामाथि नै प्रश्न उठाउने एक भयावह घटना सुनसरीमा सार्वजनिक भएको छ। भोक्राहा नरसिंह गाउँपालिका–८ का ५५ वर्षीय उमर मियाँले आफ्नै ३० वर्षीय छोरा सदरुल मियाँलाई भारतीय अपहरणकारीको जिम्मा लगाएको सनसनीपूर्ण खुलासा भएको हो।

प्राप्त विवरणअनुसार, भुटाहाबाट तरकारी किनेर फर्किने क्रममा उमर मियाँले आफ्नै छोरालाई सुनसरीको सुरसान पुल नजिकै पुर्‍याई पहिले नै ढुकेर बसेको अपहरणकारी समूहलाई सुम्पिएका थिए। त्यसपछि अपराधीहरूले सदरुललाई नियन्त्रणमा लिई हातखुट्टा बाँधेर बोरामा प्याक गरेका थिए र गाडीमार्फत भारततर्फ लैजान खोजेका थिए।

घटनाक्रम अनुसार, एक प्रत्यक्षदर्शीले शंकास्पद गतिविधि देखेपछि भारतीय प्रहरीलाई खबर गरेका थिए। तत्पश्चात सक्रिय भएको प्रहरीले शंकास्पद गाडी रोकेर जाँच गर्दा बोराभित्र बाँधिएको अवस्थामा सदरुललाई फेला पारी उद्धार गरेको जनाएको छ।

भारतीय प्रहरीले घटनाको गम्भीरता बुझ्दै तत्कालै नेपालस्थित जिल्ला प्रहरी कार्यालय सुनसरीसँग समन्वय गरेको थियो। यसै क्रममा नेपाल प्रहरीले बाबु उमर मियाँसहित आमा र अर्का एक भाइलाई समेत नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार, प्रारम्भिक अनुसन्धानमा यो घटना एक्लो योजनाभन्दा पनि संगठित संलग्नता देखिएको छ। आफ्नै छोरालाई पैसाको लोभ वा अन्य स्वार्थका लागि ‘सुपारी’ दिएर हत्या प्रयास गर्नुले समाजमा गम्भीर नैतिक प्रश्न खडा गरेको छ।

घटनाको वास्तविक कारण—सम्पत्ति विवाद, व्यक्तिगत रिसइबी वा अन्य कुनै कारण—खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। अनुसन्धान जारी रहेको र दोषीलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0