
साउन २१ गते
मधेश प्रदेशका उद्योग पर्यटन तथा वन मन्त्री सुनिता यादव र मन्त्रालयका सहायक वन अधिकृत लालबाबु यादवले अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको छ ।
गत आर्थिक वर्षमा मन्त्री यादव र अधिकृत लालबाबु यादवले शङ्कास्पद तारिकाले मधेश प्रदेशका जिल्लाहरूका लागि सार्वजनिक भएको रेडबुकको योजनाहरूको रकम नियम विपरीत रकमान्तर गरी रकम अनियमितता गरेको आशङ्कामा आयोगले त्यस बारेमा छानविन गरी १५ दिनभित्र आयोगलाई प्रतिवेदन बुझाउन मन्त्रालयलाई साउन १४ गते पत्र पठाएको छ ।
गत आर्थिक वर्षको रेडबुकमार्फत सार्वजनिक भएको पर्यटनतर्फको कार्यक्रममा करिब ४२ करोड बराबरको योजना संशोधन गरी मन्त्री यादवले विभिन्न शीर्षकमा २६३ वटा नयाँ योजनामा नियमविपरीत रकमान्तर गराएको आरोप लगाउदै अख्तियारमा उजुरी परेको थियो ।
मन्त्रालयमा अनियमितता भएको भन्दै उजुरी परेपछि असार २० गते सम्बन्धित मन्त्रालयबाट छानबिन प्रतिवेदन माग गरी त्यसमा यथाशीघ्र छानविन गर्ने भनि अख्तियारले निर्णय गरेको पत्र मन्त्रालयलाई पठाएको छ। मधेश सरकारले मन्त्रालयको नाम र मन्त्रालय हेरफेर गरेपछि अहिले वन तथा वातावरण मन्त्रालय छुट्टै रहेको छ ।















