
रौतहट । सामाजिक सञ्जाल फेसबुकमार्फत नाबालिकालाई ललाइफकाई चरित्र हत्या गर्ने एक युवक पक्राउ परेका छन्।
नेपाल प्रहरी साइबर ब्यूरोका अनुसार सिरहा कल्याणपुर नगरपालिका–११ का २२ वर्षीय जीवन कुमार साह पक्राउ परेका हुन्।
साहले फेसबुकमा नाबालिकासँग मित्रता गाँसी, म्यासेन्जरमार्फत कुराकानी गर्दै भिडियो कलमा नग्न हुन बाध्य पारेर संवेदनशील अङ्ग देखाउन लगाएका थिए। त्यसपछि उनले ती दृश्यको स्क्रिनसट र रेकर्ड बनाएर फेक फेसबुक एकाउन्टमा अपलोड गरी पीडितलाई अपमानित बनाएका थिए।
पीडितले उजुरी दिएपछि गरिएको अनुसन्धान र प्राविधिक विश्लेषणबाट साहको संलग्नता पुष्टि भएको प्रहरीको भनाइ छ।
उनलाई कात्तिक १७ गते सिरहाबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिइ अनुसन्धान भइरहेको साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपक राज अवस्थीले जानकारी दिए।
साहमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















