
पौष ४ गते
रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नं–१ बन्जारहामा झुलुङ्गे पुलदेखि बन्जारहा बाँधसम्मको सडक पीसीसी ढलान कार्यको सिलान्यास आज भव्य रूपमा सम्पन्न भएको छ।
नगरपालिकाको पूर्वाधार विकासलाई प्राथमिकता दिँदै ईशनाथ नगरपालिकाकी नगर प्रमुख श्रीमती कौशल्या देवी ज्यूद्वारा उक्त सडक ढलान कार्यको औपचारिक रूपमा सिलान्यास गरिएको हो।
सिलान्यास कार्यक्रममा नगर उप–प्रमुख मो. परवेज ज्यू, प्रमुख प्रशासकीय अधिकृत मो. नवाज हुसैन ज्यू, पूर्व विधायक माननीय श्री नागेन्द्र सिन्हा ज्यू, वडा नं–१ का कार्यवाहक वडा अध्यक्ष तजमुल खान, वडा नं–२ का वडा अध्यक्ष धर्मेन्द्र साह, वडा नं–४ का वडा अध्यक्ष शत्रुधन सिंह ज्यू लगायतको विशेष उपस्थिति रहेको थियो।
त्यसैगरी कार्यक्रममा युवा नेता तथा समाजसेवी राजु सिन्हा ज्यू, प्रमोद यादव ज्यू, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा वडा वासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
जनताको चाहना र आवश्यकतालाई मध्यनजर गर्दै नगर प्रमुख श्रीमती कौशल्या देवी ज्यूले पूर्वाधार विकासमा विशेष ध्यान दिँदै आएको भन्दै स्थानीयवासीहरूले खुसी व्यक्त गरेका छन्। सडक ढलान कार्य सम्पन्न भएपछि यस क्षेत्रका बासिन्दाहरूलाई आवत–जावतमा सहजता हुनुका साथै स्थानीय विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
नगर प्रमुख ज्यूको सक्रिय नेतृत्व र विकासप्रतिको प्रतिबद्धताप्रति स्थानीयवासीहरूले सराहना व्यक्त गरेका छन्।















