
रौतहट ।
रौतहटको राजपुर नगरपालिकाले आपतकालीन सूचना प्रवाह र विपद् पूर्वसूचनालाई प्रभावकारी बनाउने उद्देश्यले स्वचालित साइरन सेट (Automated Siren Set) जडान गरेको छ। नगरपालिकाको प्रशासकीय भवनको छतमा उक्त साइरन जडान गरिएको हो।
आज सम्पन्न अनुगमन कार्यक्रममा नगर प्रमुख डा. राजिक आलम र निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले साइरन जडान कार्यको निरीक्षण गरेका छन्। अनुगमनका क्रममा नगर प्रमुख डा. आलमले प्राकृतिक विपद्, आकस्मिक अवस्था तथा जोखिमका समयमा नागरिकलाई समयमै सचेत गराउन यो प्रणाली अत्यन्त महत्वपूर्ण हुने बताए।
“सूचना ढिलो हुँदा हुने क्षतिलाई न्यूनीकरण गर्न यस्ता प्रविधि आवश्यक छन्,” उनले भने।
नगरपालिकाका अनुसार साइरन प्रणालीको प्रयोग बाढी, आगलागी, हावाहुरीजस्ता प्राकृतिक विपद् तथा अन्य आकस्मिक अवस्थाका बेला तत्काल सूचना दिन गरिनेछ। यसले समुदायको सुरक्षा मजबुत बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।
राजपुर नगरपालिकाले आगामी दिनमा प्रविधिमैत्री र सुरक्षित नगर निर्माणको लक्ष्यसहित यस्ता आधुनिक प्रविधिहरूलाई क्रमशः विस्तार गर्दै लैजाने जनाएको छ।















