
रौतहट ।
२५औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा सशस्त्र प्रहरी बल नेपालले रौतहट जिल्लामा अति विपन्न परिवारलाई लक्षित गरी न्यानो कम्बल वितरण कार्यक्रम सम्पन्न गरेको छ।
ईशनाथ नगरपालिका–४ अन्तर्गत रामनगर (चमटोल) क्षेत्रमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल रौतहटका प्रमुख रामहरि अधिकारीको उपस्थितिमा ७० जना विपन्न परिवारलाई ७० थान न्यानो कम्बल वितरण गरिएको हो।
कार्यक्रम जिल्ला प्रशासन कार्यालय गौर, रौतहटको सहयोग, सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हे.क्वा. रौतहटको समन्वय तथा वि.ओ.पि. रामपुर खापको सहकार्यमा सञ्चालन गरिएको थियो। अत्यधिक चिसो मौसम र शीतलहरबाट प्रभावित नागरिकलाई राहत दिने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रम अन्तर्गत अपाङ्ग नागरिक तथा दलित समुदायलाई विशेष प्राथमिकता दिइएको जनाइएको छ।
न्यानो कम्बल वितरण कार्यक्रम वि.ओ.पि. रामपुर खाप रौतहटका प्रमुख सशस्त्र प्रहरी निरीक्षक (स.प्र.नि.) मन्दिरा सुवालको कमाण्डमा ९ जना सशस्त्र प्रहरी टोलीद्वारा सम्पन्न गरिएको थियो। उक्त अवसरमा ईशनाथ नगरपालिकाका कार्यपालिका सदस्य हिरालाल राम र वडा नम्बर–४ का वडा सदस्य गगनदेव रामको समेत रोहवर रहेको थियो।
स्थानीयवासीका अनुसार चिसो मौसममा नागरिकप्रति उत्तरदायी भूमिका निर्वाह गर्दै सशस्त्र प्रहरी बल नेपाल सधैँ जनताको साथमा रहेको सन्देश यस कार्यक्रमले दिएको छ। विपद् व्यवस्थापन, राहत तथा सामाजिक सेवामा अग्रपंक्तिमा रहँदै आएको सशस्त्र प्रहरी बल नेपालले यस्ता मानवीय कार्यमार्फत समाजमा सकारात्मक छवि बनाउँदै आएको भन्दै स्थानीय बासिन्दाले खुलेर प्रशंसा गरेका छन्।
कार्यक्रम सम्पन्न भएपछि टोलका सर्वसाधारणमा उत्साहको माहोल देखिएको थियो।















