
रौतहट । ईशनाथ नगरपालिका वडा नं.–४ मा आज नेपाली कांग्रेस प्रवेश कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय राजनीतिक कर्ता तथा समाजसेवी व्यक्तिहरूलाई नेपाली कांग्रेसका सांसद उम्मेदवार डा. मो. फिरदोस आलमले दोसल्ला ओढाई पार्टीमा स्वागत गर्नुभएको हो।
कार्यक्रमका क्रममा डा. आलमले नवप्रवेशी सदस्यहरूलाई पार्टीमा हार्दिक स्वागत गर्दै संगठन सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो। उहाँले स्थानीय विकास, शिक्षा, स्वास्थ्य तथा रोजगारीका क्षेत्रमा नेपाली कांग्रेसको स्पष्ट योजना रहेको उल्लेख गर्नुभयो।
नवप्रवेशी समाजसेवी तथा राजनीतिक व्यक्तिहरूले कांग्रेसको नीति, सिद्धान्त र नेतृत्वप्रति विश्वास व्यक्त गर्दै पार्टीलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाएका छन्।
कार्यक्रममा क्षेत्र नं.–२ का नेपाली कांग्रेसका वरिष्ठ नेता मो. महताब आलमको विशेष उपस्थिति रहेको थियो। साथै लालबिहारी साहसहित स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागितामा कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।















