​रौतहट । (पुस २, बुधबार)
​जिल्लाको शान्ति सुव्यवस्था र प्रहरी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले रौतहट जिल्लाका प्रमुख सुरक्षा अधिकारीहरूले आज इलाका प्रहरी कार्यालय गरुडा बजारको स्थलगत निरीक्षण तथा अनुगमन गर्नुभएको छ।

​प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दिनेश सागर भुसाल ज्यूको नेतृत्वमा गएको टोलीले प्रहरी कार्यालय र सोही परिसरमा रहेको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र गरुडा को अवस्थाबारे जानकारी लिएको हो।

​निरीक्षणमा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल ज्यू, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन कार्की ज्यू, सशस्त्र प्रहरी बल नेपाल रौतहटका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारी ज्यू, र नारायण दल गण रौतहटका प्रमुख सेनानी विश्वास विष्ट ज्यूको सहभागिता रहेको थियो।

​निरीक्षणका क्रममा सुरक्षा प्रमुखहरूले कार्यालयको भौतिक संरचना, कार्यरत जनशक्ति र सेवा प्रवाहको अवस्थाबारे गहन चासो व्यक्त गर्नुभएको थियो।
​प्रजिअ भुसालसहितका प्रमुखहरूले कार्यालयका अधिकारीहरूलाई अमूल्य नीति निर्देशणहरू प्रदान गर्दै शान्ति सुरक्षालाई थप सुदृढ बनाउन, जनमैत्री व्यवहार कायम गर्न र नागरिक गुनासोलाई प्राथमिकताका साथ सम्बोधन गर्न निर्देशन दिनुभएको छ। विशेषगरी, महिला, बालबालिका र जेष्ठ नागरिकको सुरक्षा तथा उनीहरूलाई प्रदान गरिने सेवालाई थप संवेदनशील र द्रुत बनाउन जोड दिइएको छ।

​जिल्लाका सबै सुरक्षा निकायका प्रमुखहरूको यस किसिमको संयुक्त अनुगमनले स्थानीयस्तरमा सुरक्षा निकायबीचको समन्वयलाई मजबुत बनाई आम नागरिकमा सुरक्षाको अनुभूति गराउन सहयोग पुग्ने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0